गौशालामा ८ सवारी ठोक्किएर भयानक दुर्घटना, ३ जना घाइते


काठमाडौं । काठमाडौं महानगरपालिका–८ गौशालामा एक बस अनियन्त्रित भई आठ सवारीसाधन एक आपसमा ठोक्किएर भयानक दुर्घटना भएको छ ।
बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस तिलगंगातर्फ जाँदै गर्दा नियन्त्रण गुमाएर हायस, कार, र दुई मोटरसाइकलसँग ठोक्किएको जनाइएको छ ।
दिउँसो करिब १२ बजे भएको उक्त दुर्घटनामा तीन जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए
घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ का २२ वर्षीय विकास कट्टेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ का ३७ वर्षीय शैलेन्द्र राई रहेका छन् ।
उनीहरूको उपचारका लागि केएमसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।