रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन्।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदनमाथि सुनुवाइ भएको थियो । उक्त दिन सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो ।
आज लामिछानेका तर्फबाट बहस सकिएपछि पूर्वडीआईजी छविलाल जोशीका वकिलहरूले बहस गर्नेछन्। जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतिशकृष्ण खरेल, अधिवक्ता अपूर्व खतिवडा लगायतले बहस गर्ने तयारी छ। छविलाल पक्षको बहस सकिएपछि सरकारी वकिलको तर्फबाट बहस हुनेछ। त्यसपछि जवाफी बहस सकिएसँगै इजलासले आदेश गर्नेछ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध गत बैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।