तनहुँमा अवैध हतियारसहित २ जना पक्राउ


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट अवैध हतियारसहित दुई जना बिहीबार दिउँसो पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउन्ड र म्यागेजिन १ थान बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमा नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका–१२ हर्कपुरका २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरीनगरका ३२ वर्षीय विजय तिवारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा हतियार फेला पारेको हो ।
मोटरसाइकल चालक विजय तिवारी र पछाडि सवार मिलन ढकाललाई तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।