Ad Image

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ac.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । 

भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् । 

मन्त्री डा राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङ मार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनः निर्माण एवं मर्मत सम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।

भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि  कुराकानी डा राणाको सचिवालयले जनाएको छ ।