Ad Image

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/siktasichai.jpg

बाँके । सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरअन्तर्गत पहिलो शाखा नहरको निर्माण सुरु गरेको छ । राप्ती सोनारी गाउँपालिका–४ को लटनिया गाउँबाट सुरु भएको उक्त शाखा नहरको लम्बाइ ४ किमी रहनेछ भने त्यसमा तीनवटा प्र–शाखा नहर थपिनेछन् ।

आयोजनाले शाखा नहरमार्फत ६७० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । सतह सिँचाइ सम्भव नहुने क्षेत्रमा लिफ्ट सिँचाइ प्रणाली प्रयोग गरिनेछ । दुवै योजनाका लागि करिब ११ करोड ३० लाख रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ ।

यसअघि पूर्वी मूल नहरबाट पानी आए पनि शाखा नहरको अभावमा किसानहरू राजकुलो प्रयोग गरेर सिँचाइ गर्दै आएका थिए । स्थानीय जनप्रतिनिधिहरूले बाँकी क्षेत्रमा पनि वैकल्पिक सिँचाइको माग गरेका छन् ।

सिक्टा सिँचाइ आयोजना अन्तर्गत राप्ती नदीमा बाँध निर्माण गरिएको छ । आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने हो । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ पुगेको छ भने पूर्वी नहरको ५३.५० किमीमध्ये ३७.६८ किमी निर्माण सम्पन्न भइसकेको छ ।