अल्लोबाट धागो बनाउन सिक्दै मैवाखोला गाउँपालिकाका महिला

.jpg)
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाका महिला अहिले जङ्गलमा पाइने भाङ्ग्रे सिस्नु (अल्लो)लाई धागो बनाउने सीप सिकिरहेका छन् । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक रूपले कमजोर महिलालाई सशक्त बनाउने अभियानमा गाउँपालिकाले सहयोग गरेको छ ।
गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार अल्लोलाई ब्राण्डिङ गर्दै गाउँमै उत्पादन र रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ यो अभियान तीन वर्षअघि सुरु गरिएको हो । “पहिले अल्लो जङ्गलमा खेर जान्थ्यो, अहिले त्यसैबाट धागो बुनिन्छ र कपडा तयार गरिन्छ”, अध्यक्ष वनेमले भने ।
विसं २०७९/८० मा सुरु भएको यस अभियानमा गाउँपालिकाले दर्खास्त आह्वानमार्फत सबै वडाबाट सहभागी सुनिश्चित गर्दै अल्लोबाट धागो बनाउने तालिम दिएको थियो । विसं २०८०/८१ मा उक्त धागोबाट कपडा बुन्ने सीप प्रदान गरियो ।
चालु आर्थिक वर्षमा भने तालिमको दायरा अझ फराकिलो बनाउँदै कपडालाई परिष्कृत रूप दिने गरी विस्तार गरिएको छ । तालिमसँगै सहभागीलाई व्यक्तिगत सिलाइबुनाइ मेसिन पनि प्रदान गरिएको छ ।
अध्यक्ष वनेमका अनुसार अब उत्पादनको गुणस्तर सुधार गर्न थप ‘पुनर्ताजगी तालिम’ दिने योजना बनाइएको छ । साथै, उत्पादित सामग्रीको बजारीकरणका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।