Ad Image

कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले राष्ट्रिय राजनीतिमा संकट: झलनाथ खनाल

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Jhalanath_Khanal.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न संकट उत्पन्न भएको बताएका छन् । 

पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ८ कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट पार्टीले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीलाई सच्याएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए । 

सम्मानित नेता खनालले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै आफ्नो पार्टीका तर्फबाट नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उल्लेख गरे । उनले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्था विकास गर्नुपर्नेमा जोड दिए ।

सांगठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले सांगठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।