Ad Image

पार्टी सभापति रवि नै हुन्, अब बहुमत ल्याएर प्रधानमन्त्री बनाउने हो : उपसभापति वाग्ले

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Swarnim-Wagle.jpg

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ”, उनले भने, “विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने संकल्प गर्छौं ।”

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । “केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ”, उनले भने । 

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उनलाई नै प्रधानमन्त्री बनाउने संकल्प गरिएको बताए ।