Loading...
Ad Image

३१ औँ पटक सगरमाथा शिखरमा पुगेर कामीरिता शेर्पाले बनाए विश्व रेकर्ड

User Image Mayorsap | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kamirita-sherpa.jpg

काठमाडौं । कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज (मंगलबार) बिहान चार बजे शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा पुगेर यसअघि बनाएको आफ्नै रेकर्ड तोडेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए।  रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका छन । 

गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’ उनका अनुसार कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए ।

 उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए। दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

उता, ‘प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज बिहान ०४ः०० बजे ३१ औं पटक सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गर्नुभएकोमा बधाई छ’ एभरेष्ट टुडेले आफ्नो टविटर ह्यान्डलमा लेखेको छ ।