महानगरभित्र एक्लिएका बालेनले बोलाउनै छाडे कार्यपालिका बैठक, तत्काल बैठक बोलाउन माग


काठमाडौं । प्रत्येक महिना बस्नु पर्ने काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनादेखि बस्न सकेको छैन । पछिल्लो समय आफ्नै कार्यशैलीकै कारण महानगरभित्र एक्लिँदै गएका मेयर बालेन शाहले कार्यपालिका बैठक नै बोलाउन छाडेका हुन् ।
कार्यपालिका बैठक बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायतका काममा समस्या भएको छ । ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन।
यसले आगामी आर्थिक वर्षको बजेटलाई प्रभाव पार्ने देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नु पर्ने व्यवस्था छ ।
तर काठमाडौं महानगरको कार्यपालिका बैठक पुस १४ देखि बस्न सकेको छैन। लामो समयदेखि बैठक नबोलाएको भन्दै सोमबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा बसेको अनौपचारिक बैठकले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो ।
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ। बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् ।