हिमाली गाउँपालिका–२ नातिखोला टोलमा एक घर एक धारा योजनाले स्थानीय खुसी
हिमाली गाउँपालिका–२, नातिखोला टोलमा एक घर एक धारा निर्माण भएपछि स्थानीयवासीहरूमा खुशी छाएको छ। अघिल्लो दिनहरूमा एक घण्टा टाढा धमिलो पानी खान जानुपर्ने बाध्यता अन्त्य भएसँगै, अब घरआँगनमै स्वच्छ खानेपानी पाउँदा यहाँका स्थानीयहरूले राहत महसुस गरेका छन्।
No Author Assigned | २०८१ भदौ २२ गते ०७:५३
हिमाली गाउँपालिका–२, नातिखोला टोलमा एक घर एक धारा निर्माण भएपछि स्थानीयवासीहरूमा खुशी छाएको छ। अघिल्लो दिनहरूमा एक घण्टा टाढा धमिलो पानी खान जानुपर्ने बाध्यता अन्त्य भएसँगै, अब घरआँगनमै स्वच्छ खानेपानी पाउँदा यहाँका स्थानीयहरूले राहत महसुस गरेका छन्।
नातिखोला टोलकी ज्येष्ठ नागरिक बिसुकला बुढाले धारा निर्माणपछि पानीको चिन्ता हटेको र शौचालयहरू पनि सफा रहन थालेको बताइन्। स्थानीय धर्मकला बुढाले धारा नभएकै कारण गाउँमा बुहारी पाउनसमेत कठिनाइ हुने गरेको तर अहिले त्यो समस्या हटेको उल्लेख गरिन्।
प्रदेश सरकारको १२ लाख बजेटमा ४० घरमा खानेपानीको धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष माना बुढाले जानकारी दिएका छन्। नातिखोलाको ३ किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर गाउँमा वितरण गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार, हिमाली गाउँपालिकाका अधिकांश टोलमा एक घर एक धारा योजना लागू भइसकेको छ, र बाँकी रहेका टोलमा पनि यस वर्ष खानेपानीको व्यवस्था गरिनेछ।
Facebook Comments