महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित


महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा भैँसी धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम भैँसी मर्न थालेका हुन । स्थानीय गोपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैँसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैँसी मरेको जनाइएको छ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैँसी समेत मृत अवस्थामा भेटिएको थियो । भैँसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । ‘बेलुका दूध दुएर गोठमा सारेको भैँसी बिहान मरिराखेको रहेछ,’ सरस्वति कार्कीले भनिन, ‘एक लाख १५ हजार भन्दा बढी पर्ने भैँसी गुमाउनु पर्यो ।’
भैँसीहरु किन मरे भन्ने विषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएको छैन । यद्यपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराइसकेको किसानहरूले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैँसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरूले जानकारी गराएका थिए तर त्यस्तो महामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात् फुड पोइजन भएको हुन् सक्छ ।’ यद्यपि, यसबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
वडा अध्यक्ष पदम आले मगरले पनि अहिले मरेका भैँसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् ।
Facebook Comments