बोलेरो आगलागीः स्थानीयले पहिले नै भनेका थिए लत्रिएको तार हटाउन, कसैले सुनेन् !

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1745209138.jpg

ताप्लेजुङ । ताप्लेजुङमा सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सोमबार बिहान सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लाग्यो । 
 

आगलागीमा परी ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन् । 
 

उनीहरू आमा र छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

पाथीभरा मन्दिरतर्फ दर्शनार्थी बोकेको बोलेरो गाडी सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो । बिहानको चिसोमा बाक्लो कुहिरो छिचोल्दै पाथीभरा हिँडेका दर्शनार्थी बीच बाटो मै आगोको मुस्लोमा खरानी भए । 

 

पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो । अनि आगोको ठूलो मुस्लो दन्कियो ।  गाडी भित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो।

 

सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन । स्थानीयहरू भन्छन्– आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भयो।अहिले पनि सेवारो चोकमा आगोको गन्ध र मृत्युको सन्नाटा फैलिएको छ । ताप्लेजुङजस्ता पहाडी जिल्लामा सडकसँगै विद्युतका पोलहरू र तारहरू अनियन्त्रित ढंगले बिछ्याइएका छन्। कतै पोल बाङ्गिएका छन्, कतै तार लत्रिएका छन्। यस्ता दुर्घटनाहरूका जोखिमबारे पटक–पटक चेतावनी दिँदै आएको भए पनि सुधार भएको छैन।

 

स्थानीय एक बासिन्दा भन्छन्, हामीले पहिले नै भनिरहेका थियौं तार लत्रिएको छ। कुनै दिन ठूलो दुर्घटना हुन्छ। तर सुन्ने कसले ? आज त्यो डर साँचो भयो । जिपमा आगलागी यति भीषण भएको थियो कि उनीहरूको अनुहार, शरीर चिन्नसमेत मुस्किल छ। प्रहरी र स्थानीय प्रशासन पहिचान खुलाउने प्रयासमा जुटिरहेका छन्।

 

पाथीभरा, जसलाई हजारौं भक्तजनले आफ्नो आस्था र विश्वासको थलो मानेका छन्। तर, पुग्नुअघि नै चार यात्रुले जीवन गुमाउनु पर्‍यो। यो केवल एउटा दुर्घटना मात्र होइन, आस्थाको यात्रा बीचमै रोकिएको एउटा पीडादायी कहानी हो।

 

ताप्लेजुङका स्थानीयबासी भन्छन्, यो केवल बिजुलीको तार मात्र होइन, राज्यको बेवास्ताले बुनेको एउटा मृत्यु तर्फको बाटो थियो । सेवारो चोक, जसले आज एउटा कालो बिहान देख्यो, अब सधैंका लागि एउटा सम्झनाको स्थल बनेर बाँकी रहने छ।


Facebook Comments