दक्षिण कोरियाको राष्ट्रपतिमा सत्तारुढ पार्टीका उम्मेदवारलाई हराउँदै ली जे–म्युङ विजयी


सियोल । दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ विजयी भएका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) को किम मुन सुलाई पराजित गरेर विजयी हासिल गरेका हुन् ।
मत परिणाम अनुसार लीले ४८.३१ प्रतिशत मत ल्याएका छन् भने किमले ४२.९ प्रतिशत मत मात्र प्राप्त गरेका छन् । यस निर्वाचनमा ६ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपीपी पार्टीका उम्मेदवारहरू बीच मात्रै रहेको थियो ।
जितपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’ त्यसैगरी किम मुनले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णयलाई विनम्रता पूर्वक स्वीकार गर्दछु र ली जे म्युङलाई विजयको शुभकामना दिन्छु ।’
राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो । जबकि सन २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७।१ प्रतिशत मत खसेको थियो । सन् १९८७ मा दक्षिण कोरियामा भएको निर्वाचनमा सबैभन्दा बढी मतदाता ८९.२ प्रतिशत थियो।
सन् २०२७ मा दक्षिण कोरियामा चुनाव हुने भएता पनि पीपीपी पार्टीका युन सुक येओललाई गत वर्षको डिसेम्बरमा मार्शल ल लागू भएपछि राष्ट्रपति पदबाट हटाइएको थियो । युन सुक येओलले मार्शल ल लागू गर्नुको कारण राज्य विरोधी शक्ति र उत्तर कोरियाको धम्की भएको बताएका थिए । तर, यो चाँडै स्पष्ट भयो कि उनले आफ्नो राजनीतिक समस्याबाट छुटकारा पाउन मार्शल ल लगाएका थिए।
एक सातापछि संसदले उनलाई महाभियोग लगाएको थियो । र, गत अप्रिल ४ मा संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्यो र स्थायी रूपमा पदबाट हटायो । यसपछि दक्षिण कोरियाको कानुन अनुसार ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य थियो, जसअनुसार यो समयसीमा भन्दा अगाडि नै निर्वाचन भएको हो ।