Ad Image

न्यायपरिषद्को आकस्मिक बैठक बस्दै, आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल हुने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Prakashman-sing-raut.jpg

काठमाडौं । न्यायपरिषद्को आकस्मिक बैठक बस्दैछ । न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन् । अहिले केहीबेरमा बस्ने बैठकमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसलाबारे छलफल हुने स्रोतले जनाएको छ ।  

 ‘बैठकका एजेन्डा न्यायाधीश नियुक्तिलगायत अन्य होलान, तर मूलभूत रुपमा आलमलाई सफाइ दिने फैसलाबारे छलफल गर्न नै बैठक डाकिएको हो’, न्यायपरिषद् स्रोतले भन्यो । आलमलाई सफाइ दिने फैसलाको चौतर्फी रुपमा प्रश्न उठ्न थालेपछि सदस्यहरुसँगको परामर्शमा प्रधानन्यायाधीशले बैठक डाकेका हुन् । 

केही दिनअघि न्यायपरिषद्‍मा आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी पनि परेको थियो । न्यायपरिषद्‍ले मुद्दाको मिसिलसमेत मगाइसकेको छ । फैसलाको पूर्णपाठ तयार नभएकाले उच्च अदालतको वीरगञ्ज इजलासपबाट रायकिताबको प्रतिलिपी समेत मगाइएको परिषद् स्रोतले बतायो ।

सर्वोच्च अदालत स्रोतका अनुसार, आलमलाई सफाइ दिने मामिलामा मूलतः डा। खुसीप्रसाद थारुको भूमिकामाथि प्रश्न उठेको हो । विशेष अदालतको वरिष्ठतम सदस्य हुँदा थारु सहितको इजलासले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तत्कालिन भौतिकमन्त्री एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पनि सफाइ दिएको थियो । 
त्यसपछि उच्च अदालतको वीगञ्ज इजलास सरुवा भएका थारु नेतृत्वको इजलासले आलमलाई सफाइ दिएको हो ।  

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको न्यायपरिषद्‍मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, सदस्यहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र कानूनमन्त्री अजयकुमार चौरसिया सदस्य छन् ।