अभिलेखन र प्रतिवेदन समयमै पेश गर्न उपप्रमुख डंगोलको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न समयमा गरेको अनुगमनको समिक्षा सकारात्मक देखिएको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलका अनुसार स्थलगत अनुगमनका क्रममा दिइएका निर्देशनहरूको कार्यान्वयन सन्तोषजनक रहेको छ ।
“अब ती निर्देशनहरूको अभिलेखनसहित प्रतिवेदन पेश गर्नुहोस्,” उपप्रमुख डंगोलले सम्बन्धित विभागहरूलाई निर्देशन दिइन् । समीक्षाका क्रममा उनले अनुगमन मिति, स्थान, अवस्था र निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगति विवरण सम्बन्धित विभाग प्रमुखहरूसँग लिएकी थिइन् ।
नारायण गोपाल भवनमा लिफ्ट जडान, निर्माण सामग्रीको गुणस्तर परीक्षण, प्रदूषणमुक्त सवारी साधन प्रयोग, आकाशे पानी संकलन प्रणाली, कमलपोखरीमा पानीको मात्रा वृद्धि, सीसीटीभी जडान, धुलोरहित सडकका लागि प्राविधिक प्रतिवेदन, मखन आगलागीसम्बन्धी प्रतिवेदन र वेरुजु फस्र्योट कार्ययोजना निर्माण लगायत विषयमा उनले निर्देशन दिएकी हुन् ।
उनले बजार अनुगमन, उपभोक्ता हित संरक्षण, योजना कार्यान्वयन र वडास्तरीय कामको अनुगमनजस्ता क्षेत्रमा समितिले काम गर्नुपर्ने भए पनि एउटै संयोजकको नेतृत्वमा सबै क्षेत्रमा अनुगमन गर्न कठिन भएकाले वडागत तथा क्षेत्रगत अनुगमन टोलीहरू गठन गरिएको बताइन् ।
डंगोलले सबै टोलीहरूले गरेको अनुगमनको प्रतिवेदन समितिमा अनिवार्यरूपमा बुझाउनु पर्ने उल्लेख गर्दै योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई केन्द्रीय तथा वडास्तरीय टोलीका कामहरूको एकीकृत प्रतिवेदन तयार पार्न निर्देशन दिइन् ।
साथै, सभाबाट गठित विषयगत समितिहरूबीच सहजीकरण तथा समन्वय गर्न सम्बन्धित सचिवहरूले नियमित प्रतिवेदन पेश गर्नुपर्ने उनले स्पष्ट पारिन् ।
“चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन मात्र होइन, अघिल्ला वर्षहरूको एकीकृत प्रतिवेदन र आगामी अर्धवार्षिक प्रतिवेदन समेत पेश गर्नुहोस्,” डंगोलले भनिन्, “यिनै प्रतिवेदनहरूले समितिहरूको काम सहजीकरण गर्ने आधार तयार पार्नेछ ।”