Ad Image

अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिए

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Virginia-4-nepali.jpeg

भर्जिनिया । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरको तल्लो तलामा भाडामा बस्ने दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरको तल्लो तल्लामा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरु सबैको गोली लागेर मृत्यु भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ। प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।