त्रिदेशीय क्रिकेट शृङ्खला: आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे खेल सुरु हुने छ । पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण आज नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पार गरेको थियो ।
यसैगरी नेपालले बुधबार आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्समाथि ५ विकेटका जित निकाल्यो । नेपाली टोली लिग २ का दुई शीर्षस्थ टोलीलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । ‘डबल हेडर’ मा स्कटल्यान्डविरुद्ध नेपालले पुनः खेल्न लागेको हो ।
स्कटल्यान्ड आउनुअघि ६ अंकसहित लिग २ को पुछारमा रहेको नेपाल दुई जितपछि सातौं स्थानमा उक्लेको छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । शुक्रबार नेदरल्यान्ड्समाथि विजय हात पारेपछि स्कटल्यान्डले १८ खेलबाट २२ अंक पुर्याएको छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमान २४ अंकसहित शीर्ष तीन स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछ । नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ ।