अमेरिकाको लस एन्जलसमा उग्र बन्दै आप्रवासीको प्रदर्शन


लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आप्रवासीको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी धरपकडको विरुद्धमा शुक्रबारदेखि सुरु भएको प्रदर्शनले निकै हिंसात्मक रुप लिइरहेको छ । सो क्रममा दर्जनौं पक्राउ परेका छन् भने प्रहरी अधिकारीहरूसमेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन भने बाटाहरू बन्द भएका छन् ।
क्यालिफोर्निया प्रहरीले सामाजिक सञ्जालमा हाइवे गस्ती प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई त्यहाँबाट हटाउने चेतावनी दिएको छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि आप्रवासीको प्रदर्शन रोकिएको छैन। सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य सार्वजनिक भइरहेका छन्।
क्यालिफोर्नियाका डेमोक्र्याट गर्भनरले भने कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गरेका छन्। उनीहरूको संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा गार्ड राज्य स्तरमा रहने भए पनि ट्रम्पले शक्तिको दुरुपयोग गदै यसलाई आफै प्रयोग गरेको आरोप लगाएका हुन्।
काङ्ग्रेसकी सदस्य म्याक्सिन वाटर्सले गिरफ्तार भएका मजदुर नेता डेभिड हुरेटाको अवस्थाको जानकारी माग गरेकी छिन्। हुरेटालाई शुक्रबार गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तारपछि घाइते भएको भन्दै अस्पताल लगिएको थियो । क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर गेभिन न्युसमले त्यहाँ प्रयोग गरिएका गार्ड आफ्नो कमान्डमा मात्र चल्नु पर्ने कुरामा जोड दिएका छन्।
न्युसमले प्रदर्शनकारीलाई शान्त रहनका लागि अपिल गरेका छन्। उनले प्रदर्शनकारीलाई सम्बोधन गर्दै हिंसा मच्चिएमा त्यो ट्रम्पले चाहे अनुसार नै हुने बताए। उनले राष्ट्रपति ट्रम्पको इच्छा पुरा हुन नदिनका लागि शान्त रहन भनेका हुन्।
संसद्का सभामुख माइक जोन्सनले भने राष्ट्रपतिले राष्ट्रिय सुरक्षा गार्ड उतारेर देशको आवश्यकता अनुसार सही गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा हिंसात्मक विद्रोही भीडले अवैध आप्रवासी डिपोर्टको अभियानलाई बिथोल्न खोजेको बताएका छन् ।