पटक-पटक सर्दै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्दै


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्तादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश समेत गर्न सकेको छैन ।