गाजामा मानवीय सहयोग लिएर गएको जहाजलाई इजरायलले कब्जा गर्यो


काठमाडौं । गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय वातावरण अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्गसहितको १२ जना टोली सवार जहाजलाई कब्जामा लिएको हो । ग्रेटा गाजाका जनताका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेर गइरहेकी थिइन् ।
ग्रेटा र उनका साथीहरूले इजरायली सैनिकहरूले आफूहरूलाई अपहरण गरिएको आरोप लगाउँदै भिडिओ जारी गरेका छन् । ग्रेटाले आफ्नो रिहाइका लागि आफ्नो परिवार र स्विडेन सरकारसँग गुहार मागेकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५ वटा इजरायली स्पिड बोटले जहाजलाई घेर्दै सैनिकहरू चढेर आफ्नो नियन्त्रणमा लिएका हुन् । यो जहाज गाजाका जनताका लागि राहत सामग्री लिएर जाँदै थियो। उक्त जहाजमा रहेका सबै जना इजरायली सेनाको नियन्त्रणमा छन्। अब यो जहाज गाजाको सट्टा इजरायल लगिँदै छ।
केही समय अघि इजरायली विदेश मन्त्रालयले प्रतिबन्धित क्षेत्रमा जहाज गइरहेको जनाएको थियो । इजरायलले हमासलाई हतियार पुग्न रोक्नका लागि यो प्रतिबन्ध आवश्यक रहेको जनाएको छ।