Ad Image

एलएमा आप्रवासन छापा र राष्ट्रिय सुरक्षा गार्डको तैनाथीविरुद्ध व्यापक विरोध: सडक बन्द, कारमा आगजनी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/22/La Protest.jpg

एजेन्सी । संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरमा जारी आप्रवासन छापा र राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संघीय सुरक्षाकर्मीको सुरक्षाका लागि राष्ट्रिय सुरक्षा गार्ड (नेशनल गार्ड) पठाइएको विरोधमा व्यापक प्रदर्शनहरू भड्किएका छन्। चार दिनदेखि जारी प्रदर्शनहरू हिंसात्मक बन्दै गएका छन्, जसमा प्रदर्शनकारीहरूले सेल्फ-ड्राइभिङ कारहरूमा आगजनी गरेका छन् भने प्रहरीले अश्रुग्यास र फ्ल्यास बाङ प्रयोग गरेर भिड हटाउने प्रयास गरेको छ।

प्रदर्शनकारीहरूद्वारा डाउन टाउन एलए सम्पूर्ण रूपमा ‘अवैध भेला क्षेत्र’ घोषित गरिएको छ। एलएका गभर्नरको सहमति विना पहिलोपटक राष्ट्रपतिले दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरू तैनाथ गरेका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युशम र एलए मेयर करेन बासले राष्ट्रपति ट्रम्पको कदमलाई 'उत्तेजक' भन्दै विरोध गर्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने घोषणा गरेका छन्।

अमेरिकाकाे स्यान फ्रान्सिस्कोमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । ६० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

विरोध किन?

एलएमा गरिएको आप्रवासन छापा, संघीय गार्डहरूको उपस्थितिलाई लिएर आक्रोशित नागरिकहरू सडकमा ओर्लिएका छन्। प्रदर्शनकारीहरूका अनुसार ‘सबैभन्दा कमजोर समुदाय’ लाई लक्षित गरेर गरिएको ‘अपहरण शैली’ को गिरफ्तारीकाे प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका हुन् । खुफिया अधिकारीहरूले केही प्रदर्शनकारीहरूलाई 'पेशेवर दंगा भड्काउने' तत्वका रूपमा चित्रण गरेका छन्।

आइतबार लस एन्जलस शहरको मेट्रोपोलिटन डिटेन्सन सेन्टर नजिकै १०१ फ्रीवेमा प्रहरीकाे गाडी लक्षित फ्ल्यास बम विस्फोट

ऐतिहासिक सन्दर्भमा एलए प्रदर्शनहरू

एलएको प्रदर्शन इतिहास समृद्ध छ। १९६८ को मेक्सिकन अमेरिकी विद्यार्थीहरूद्वारा गरिएको शिक्षामा विभेदविरुद्धको 'ब्लोआउट', १९९२ को 'रोड्नी किङ दंगा', र २०२० को 'जर्ज फ्लोयडको हत्या' विरुद्धको विरोध याद गर्न लायक छन्। अहिलेको आन्दोलन पनि आप्रवासी अधिकार र संघीय सरकारकाे हस्तक्षेपको विरोधमा तातिएको हो।

दृश्यहरू भयावह

सडकमा प्रदर्शनकारीहरूले डम्परमा आगो लगाएकाे देखिन्छ । त्यस्तै मेक्सिकोको झन्डा फहराउँदै प्रदर्शनकारीहरूले विराेध प्रदर्शन गरेका छन्।

१०१ फ्रीवेमा प्रहरीद्वारा फ्ल्यासबाङ प्रहार गरिएको छ। प्रदर्शनस्थलमा प्रहरी र मोटरसाइकल सवारबीच झडप भएकाे देखिन्छ ।  सेल्फ-ड्राइभिङ कारमा आगजनी गरिएको छ।

मिडिया पनि प्रभावित

अष्ट्रेलियाको नाइन न्यूजकी रिपोर्टर लरेन टोमासी र बेलायती फोटो पत्रकार निक स्टर्न प्रहरीद्वारा प्रहार गरिएको गैर-घातक गोलीबाट घाइते भएका छन्। स्टर्नले त आफूलाई 'वास्तवमै ज्यान गएको हो कि भन्ने डर लागेको' बताएका छन्। उनले शल्यक्रिया गराउनु परेको छ।

स्यान फ्रान्सिस्कोको अवस्था

आईसीईका गतिविधिको विरोधमा स्यान फ्रान्सिस्कोमा पनि विरोध प्रदर्शन हिंसात्मक बनेपछि ६० जना पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले सरकारी सम्पत्तिमा तोडफोड र प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। दुई प्रहरी घाइते भएका छन्।

एलए प्रहरी प्रमुख जिम म्याकडोनेलका अनुसार, आइतबार मात्रै २७ प्रदर्शनकारी पक्राउ परेका छन्। उनीहरूलाई पेट्रोल बम प्रहार, मोटरसाइकलबाट प्रहरी रेखा तोड्ने लगायतका अभियोगमा पक्राउ गरिएको हो।

गभर्नर ग्याविन न्युशमले राष्ट्रपति ट्रम्पका आप्रवासन सल्लाहकार टोम होम्यानलाई चुनौती दिँदै भने, “उहाँलाई थाहा छ म कहाँ छु। आएर समातुन्।”

एलए र क्यालिफोर्नियाका अन्य शहरहरूमा भइरहेको यो आन्दोलन अमेरिकी राजनीतिमा आप्रवासन, संघीय हस्तक्षेप र मानव अधिकारको विषयमा पुनः व्यापक बहसको केन्द्रमा पुगेको छ। यता संघीय सरकार ‘कानून कार्यान्वयनमा बाधा पुर्याउने’ भन्दै कडा प्रतिक्रिया दिइरहेको छ भने, स्थानीय सरकार तथा नागरिकहरू यसलाई असंवैधानिक भन्दै प्रतिवादमा उत्रिएका छन्।

याे पनि पढ्नुहाेस्

अमेरिकाको लस एन्जलसमा उग्र बन्दै आप्रवासीको प्रदर्शन