Ad Image

ढल निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार, काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar.jpg

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ। सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता गरेको भन्दै हाल काठमाडौंका सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका तत्कालिन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरूद्ध अख्तियारले बुधवार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो। 

परियारसहित मुद्दा दायर हुनेमा महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरी रहेका छन् । अख्तियारले उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी समेत गरेको छ । 

सामाखुसी करिडोरको ढल निर्माण कार्यको ठेक्कामा बोल कबोलभन्दा बढी मूल्यलाई ठेक्का दिएको अख्तियारको आरोप छ । ढल निर्माणमा समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष–कोहिनुर जेभीले ठेक्का हालेका थिए। समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो । तर ठेक्का भने कम कबोल गर्ने समानान्तर निर्माण सेवा प्रालिलाई नदिएर कल्पवृक्षलाई दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान गरी अख्तियारले परियारसहित ७ जनालाई मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।