प्रतिनिधि सभा बैठक बस्दै, के के छन् कार्यसूची ?


काठमाडौं । आज पनि दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अवरोध गरेपछि बिहीवार सम्मका लागि बैठक स्थगित भएको थियो ।
बुधवार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेबाट बैठक सुरू भएको थियो । तर बैठक सुरु हुनासाथ प्रतिपक्षी दलले नाराबाजीसहित अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची छ ।
प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने माग राख्दै प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएका छन् । यता सत्ता पक्ष भने गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि बनाउन आवश्यक नभएको अडान राख्दै आएको छ ।