संसद अवरोध खुलाउन अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । संसद्को जारी गतिरोध अन्त्यका लागि संसद्को बैठक बस्नुअघि माओवादी केन्द्रले विपक्षी दलहरुको बैठक बोलाएको हो ।
सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबीच साझा धारणा बनाउनका लागि बैठक बोलाएको बताइएको छ । विपक्षी दलहरुको साझा धारणा तयार भएपछि विपक्षी दलले सत्ता पक्षसँग छलफल गर्ने तयारी छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्याउँदै आएका छन् ।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएनन्। जसका कारण बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन ।
दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् ।