व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ: परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छिन् ।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीवार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छिन्। यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको उनको भनाइ छ ।
“नागरिक दैनिकमा आफ्नो विषयमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु”, उनले भनिन्, “हाम्रो परिवारलाई बदनाम गराउने दुषित मनासयसहित सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणका बारेमा उहाँसँग कुराकानी भएको हो ।”
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने समेत उनले स्मरण गराएकी छिन् ।