भरतपुर ड्राइभिङ लाइसेन्समा ठगी: तीन महिना अघि मेयरसापले उजागर गरेको विषयमा अहिले अख्तियारको छापा


काठमाडौं । ड्राइभिङ लाइसेन्स प्रक्रियामा ठगी र अनियमितता भएको भन्दै करिब तीन महिनाअघि मेयरसाप डटकमले उजागर गरेको प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शुक्रवार आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुरमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ नगदसहित कार्यालय सहायक (पाँचौँ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको हो ।
महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरका सञ्चालकसँग मिलेमतो गरेर ट्रायल फेल भएकालाई समेत २५ हजारसम्म पैसा लिएर पास गराउने गरेको उजुरी परेपछि आयोगले छापा मारेको थियो ।
आयोगले कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारीहरू तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र अन्य महत्वपूर्ण कागजातहरू समेत बरामद गरेको छ । आयोगले पक्राउ परेका व्यक्ति र बरामद सामाग्रीका आधारमा थप अनुसन्धान गरिरहेको छ ।
यसअघि मेयरसाप डटकमले प्रकाशन गरेको समाचार सामाग्री ‘भरतपुर डायरीः अवैध क्रसर उद्योग सञ्चालनबारे समाचार प्रकाशित गर्दा ‘अत्तालियो’ मेयर रेणुको टिम’ मा पनि भरतपुरमा सञ्चालित महालक्ष्मी ड्राइभिङ सेन्टर प्रालिमा भइरहेको ठगी र अनियमितताको विषयमा उल्लेख गरिएको थियो ।
महालक्ष्मी ड्राइभिङ सेन्टरमा भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयमा प्रेस सल्लाहकार रहेका सुरेशचन्द्र अधिकारी लगायतको लगानी छ । राजनीतिक पहुँचकै आधारमा यो ट्रायल सेन्टरले चालक अनुमतिपत्रको परीक्षा लिने अधिकार पाएको छ । यहाँ अन्य ठाउँबाट ड्राइभिङ सिकेर आएका नागरिकहरुले ट्रायल ‘पास’ गर्नका लागि पैसा तिर्नै पर्ने बाध्यताको विषय हामीले यसअघि प्रकाशन तथा प्रसारण गरेका थियौं । त्यति मात्र होइन्, मेयरसाप डटकमको टिमले आफैं स्थलगत रिपोर्टिङका क्रममा आफूहरुलाई १० दिनभित्र लाइसेन्स चाहिएको भन्दा ३८ हजारमा १० दिनभित्र हामीलाई लाइसेन्स उपलब्ध गराउने कुराकानी समेत भएको थियो । यो विषय समेत हामीले समाचारमा उल्लेख गरेका थियौं ।
ड्राइभिङ लाइसेन्स लिन पैसाको चलखेल हुने गरेको गुनासो यसअघि सिडियो हुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासम्म समेत पुगेको तर पहुँचकै आधारमा कार्बाही प्रक्रिया भने अघि नबढेको विषय समेत हामीले उठाएका थियौं।
सत्ता र पहुँचको आडमा सञ्चालित यस्तो गैरकानुनी कारेबारविरुद्ध अख्तियारको सक्रियता स्वागत योग्य छ । तर केबल साना कर्मचारी र बिचौलिया पक्राउ गरेर मात्र समस्या समाधान भने हुँदैन । मेयर रेणुका सचिवालय प्रेस सल्लाहकार अधिकारीले मेयरको पावरलाई दुरुपयोग गर्दै यो धन्धा निरन्तर चलाउँदै आएका छन् । अख्तियारको पहिलो छापामा बचेका अधिकारी पक्कै पनि अख्तियारको अनुसन्धानबाट भने बच्ने छैनन् भन्ने अपेक्षा छ ।