सांसद सुमना श्रेष्ठको प्रश्न–विधेयक हामीले बनाउने हो कि संघसंगठनहरुले ?

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा संघसंगठनहरुको दबाब आएको भन्दै आपत्ति जनाएकी छिन् । शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सरकार नै विद्येयक बनाउने विषयमा संघसंगठनहरुको दबाबमा पर्ने गरेको बताएकी हुन् ।
उनले सरकार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता सङ्घ संस्थाको दबाबमा परेको बताइन्। ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै उनले त्यसका लागि सरकारलाई रुलिङ गर्न सभापतिसँग अनुरोध समेत गरेकी छन् । उनले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा हस्तक्षेप सह्य नहुने समेत बताएकी छन् ।
सांसद श्रेष्ठले महासङ्घले दिने दबाब पार्टीले थेग्नुपर्ने र त्यसको असर सांसदलाई पार्न नहुने बताइन् ।
सांसद श्रेष्ठले कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने ? भन्ने प्रश्न गर्दै भनिन्, ‘विद्येयक हामीले बनाउने हो कि सङ्घसङ्गठनहरूले बनाउने हो ?’