लोकतन्त्र बलियो बनाउन कर्मचारीले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रसेवक कर्मचारीले सहज, सरल र प्रभावकारी सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न सके लोकतन्त्र बलियो बन्ने धारणा व्यक्त गरेका छन् ।
लोक सेवा आयोगको हीरक जयन्ती समारोहमा बोल्दै उनले सुशासन, दक्षता र प्रविधिको प्रयोगमार्फत जनताका चाहना सम्बोधन गर्नुपर्नेमा जोड दिए । कर्मचारीतन्त्रले नागरिकका हकमा सहज पहुँच सुनिश्चित नगरे लोकतन्त्र दरिलो नहुने चेतावनीसमेत दिए ।
राष्ट्रपतिले लोक सेवा आयोगले ७५ वर्षको यात्रामा ‘योग्यता, निष्पक्षता र स्वच्छता’का सिद्धान्त पालना गर्दै असल कर्मचारी छनोट गर्ने कार्य प्रशंसनीय रहेको बताए ।
साथै, समावेशी समूहबाट उम्मेदवार सिफारिस हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै भविष्यमा पनि अझ प्रभावकारी ढंगले कार्य गर्न आयोगले ध्यान दिनुपर्ने धारणा राखे ।