सहकारी ठगी प्रकरण : रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता


काठमाडौं । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित २९ जनाविरुद्ध सहकारीको रकम अपचलनमा पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको हो । लामिछानेविरुद्ध जेठ ३० गते अभियोगपत्र अदालतमा दर्ता गरिएको हो ।
प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । यसैगरी छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ । लामिछाने र जोशी दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा कारागारमा छन् ।