धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले राणासँग ३ लाख धरौटी मागेको हो ।
गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । गत चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।
यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका थिए। रविन्द्र मिश्र भने अदालत उपस्थित हुन बाँकी छ। यस प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।