Ad Image

माडी नगरपालिकामा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा प्रतिबन्ध

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madi nagar.PNG

चितवन । माडी नगरपालिकाले प्लाष्टिकजन्य सामाग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामाग्रीमा रोक लगाउने निर्णय गरेको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाइएको हो । उनले भने “प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ र हराभरा देखिन्छ ।” 

उद्योग वाणिज्य संघ माडी शाखासँगकाे सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उनले बताए। उनले भने, “यस क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्याधिक भएकाले प्रतिबन्ध लगाउनु राम्रो काम हो । ”

बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उनले बताए। उनले भने “प्लाष्टिकजन्य झोलासहित गिलास र अन्य सामाग्रीमा रोक लागएका छौ ।” वातावरण प्रदुषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ । 

प्लाष्टिकको गिलासमा चिया बिक्री वितरण गर्ने र प्लाष्टिकका सामाग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उनले बताए। अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरु भइरहेको छ । 

नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरुमा रोक लगाउन खोजिएको हो । 

प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुँदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उनले बताए।