कार्यकक्षमै कुटिए हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष न्यौपाने


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ । भुमि सम्बन्धि समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाको समूहले वडाध्यक्ष न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेका हुन् ।
उनीहरुले वडाध्यक्ष न्यौपानेको टाउकोमा कार्यालयमै भएकाे सामान प्रहार गरेर मोविल छ्यापेका छन् । आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । उनीहरुले आफूमाथि आक्रमण गरेपछि वडाध्यक्ष न्यौपाने चिच्याएका थिए । उनी चिच्याएपछि आक्रमणकारी भागेको बताइएको छ । उनीहरुले अध्यक्ष न्यौपानेको दुई वटा मोबाइल समेत लगेको अध्यक्ष न्यौपानेले बताए ।
घटनापछि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरु घटनास्थल पुगेका छन् । घटनाको विशेष ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गरेकी छन् । नगर प्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल कार्बाहिको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।
केहि अघिबाट हेटौंडा–१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो । सोही विषय उठाउँदै आफूमाथि आक्रमण भएको वडाध्यक्ष न्यौपानेले बताए ।
उपमहानगरमा आकस्मिक बैठक
वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको विषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्ने भएको छ । बैठकपछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।