‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्र मन्त्रालयले भन्यो– इजरायल र इरानमा यात्रा नगर्नु


काठमाडौं । सरकारले अहिलेको जटिल अवस्थामा इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रका भ्रमण, वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारीमा रहेका नेपालीहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म इजरायल र इरानमा नजान आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ।’ साथै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।