प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिए ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनः बैठकमा आए । कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए ।
“सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उनले भने । रास्वपाले गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्न माग गरिरहेकाे छ । सत्तापक्ष भने रास्वपालगायत साना दललाई दबाएर संसद सुचारू गर्न प्रयासरत छ । सत्ता पक्षका सांसद गृहमन्त्री रमेश लेखकको बचाउमा खुलेर लागेकाे देखिन्छ ।