Ad Image

रास्वपालाई शुभकामना दिँदै योगेशले भने–छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ, ख्याल गर्नुहोला

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Yogesh-bhattrai-jh-1720774081.jpeg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्थापना दिवसका अवसरमा शुभकामना दिँदै रास्वपा छिट्टै बनेर छिट्टै बिग्रिने चेतावनी समेत दिएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाले अरु पार्टी बिग्रेको भनेर प्रश्न उठाइरहँदा आफू बिग्रिरहेको अवस्था बारे स्थापना दिवसका दिन समिक्षा गर्न भनेका हुन् ।

उनले रास्वपालाई स्थापना दिवसको शुभकामना दिँदै भने–‘उहाँहरूले अरु पार्टीमाथि प्रश्न उठाइरहनुभएको छ । कांग्रेस बिग्रियो, एमाले बिग्रियो । म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो । बिग्रेछौं भने पनि समय लाग्छ । तपाईंहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला, स्थापना दिवसका अवसरमा त्यो समीक्षा गर्नुहोला ।’

उनले रास्वपा र राप्रपाले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दुख लागेको समेत बताएका छन् ।


उनले भने, ‘संसद्‌मा हामी छलफल गर्दैनौं, भाग लिँदैनौं विनियोजन विधेयकमा, नीति कार्यक्रमाथिको छलफलमा भने गम्भीर प्रश्न उठ्छ– संसदप्रति उहाँहरूको विश्वास छ कि छैन ?’

भिजिट भिसा प्रकरणलाई भट्टराईले सामान्य विषयको संज्ञा दिए । यो विषय संसद्मा उठिसकेपछि छलफल गरेको र सहमतिमा पुगेको उनले बताए ।

भिजिट भिसा प्रकरणमा छानबिन गर्ने सहमतिमा दलहरूपुग्दा छलफलमा रास्वपा समेत रहेको र रास्वपाले समयसीमा तय गरौं भनेर प्रस्ताव राखेको उनले बताए ।