Ad Image

भोजपुरको लोमाखोलामा ८ सय घरमा ‘एक घर, एक धारा’

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za pani lamakhola.jpg

भोजपुर । षडानन्द नगरपालिकामा सञ्चालन भइरहेको लोमाखोला खानेपानी आयोजनामार्फत आठ सय घरमा ‘एक घर, एक धारा’ सुविधा पुगेको छ । यससँगै वर्षौँदेखिको खानेपानी अभाव अन्त्य भएको छ ।

षडानन्द–१२ टारीगाउँका स्थानीय मोहन तामाङका अनुसार, एक गाग्री पानीका लागि राति २ बजेदेखि पालो बस्नुपर्ने बाध्यता थियो । “अहिले घरमै धारा जडान भएपछि हामी खुसी छौं,” तामाङले भने । ८३ वर्षीया हीमादेवी कार्कीले दमको रोगका कारण बाहिर जान नसक्ने भएकाले पहिले पैसा तिर्दै अरूलाई पानी ल्याउन लगाउनु परेको बताइन् ।

आयोजना दुई स्किममा सञ्चालन भइरहेको छ । पहिलो स्किम अन्तर्गत कमेरे–देउसे र दोस्रो स्किम अन्तर्गत कखुवा–सिस्नेटार मुहानबाट पानी ल्याइएको छ । अहिले ८, ९, १०, ११ र १२ नं वडाका घरमा पानी वितरणको काम भइरहेको छ । कुल १,४१६ घरलाई पानी वितरण गर्ने लक्ष्य लिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

आयोजनामा १२ वटा ट्याङ्कीमध्ये अधिकांश बनिसकेको र वितरण पाइप लाइनको लम्बाइ १५३ किलोमिटर रहेको अध्यक्ष राजनविक्रम राईले बताए । हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

वर्खामा प्रशोधन संरचना नहुँदा बालुवा, गिट्टी आएर धारा जाम हुने समस्या देखिएको छ भने सडक विस्तारसँगै निर्माण कार्यमा ढिलाइ भइरहेको छ । आयोजनाको लागत करीब २८ करोड ५१ लाख रुपैयाँ अनुमान गरिएको छ। श्रमदानमार्फत लाइन खन्ने तथा पुर्ने काम भइरहेको छ ।

नगरप्रमुख सुरेन्द्रकुमार उदासले आयोजना सम्पन्न भएपछि पाँच वडाका सबै बासिन्दालाई खानेपानी सुविधा पुग्ने विश्वास व्यक्त गरे ।