Ad Image

बैतडीमा अमेरिकन फौजी कीराले मकै सखाप, किसान चिन्तित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/makai sakhap.jpg

बैतडी । बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । 

जोशीकै मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले  यसअघि  नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ ।

कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए । भन्छन्, ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो ।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको  दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए । उनले भने, ‘फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।’

मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ । पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ । बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ ।