Ad Image

मधेश मिडिया काउन्सिलका रजिष्ट्रार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kamal-upadhyaya-madhesh-council.jpg

काठमाडौं । मधेश मिडिया काउन्सिलका रजिष्ट्रार कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । 

 उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नियुक्त भएको २ दिनमा नै आयोगले उनी विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएपछि निलम्बनमा परेका थिए । 

उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको भन्दै आयोगले अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ ।

नगरपालिकाका लेखापाल हासिम मिया अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको तर उनी विरुद्ध ठोस एवम वस्तुतिष्ठ प्रमाणबाट दोषी पुष्टि नभएपछि उनलाई सफाई दिएको छ । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।