बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था संशोधन हुन्छ: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था संशोधन हुने बताएका छन् । प्रतिनिधि सभामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सोमवार अर्थमन्त्री खड्काले टेक एन्ड पे को व्यवस्था संशोधन हुने बताएका हुन् ।
टेक एन्ड पेको व्यवस्था संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको समेत उनले जानकारी दिए ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणसँगको राय सुझावका आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना, विद्युत् खपत र निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता ‘टेक अर पे’नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको बताए ।
‘टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु।’ उनले भने ।
उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको समेत बताए ।
ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गरे ।
‘ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता परेको कुरा यहाँहरूलाई थाहा नै छ । ऊर्जा अब केबल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने कुरामा हाम्रो दुई मत छैन,’ मन्त्री खड्काले भने, ‘ऊर्जा हाम्रो जीवनको लागि अक्सिजन सरह बनेको कुरा हामीले महसुस गर्न थालेका छौँ । त्यसैले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु हाम्रो कर्तव्य भएको छ ।’