विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरेका छौँ: मन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको बताएकी छिन् । सोमवारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले यस्तो बताएकी हुन् ।
उनले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको समेत जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छु, उनले भनिन्,'म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ ।'
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन् ।