देशभरका सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै


काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहले आज राजस्व र व्यय (बजेट) सार्वजनिक गर्दैछन् । आर्थिक वर्ष २०८२/०८३ का लागि आज सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले बजेट ल्याउँदैछन्।
प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने व्यवस्था छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्छ ।
७ सय ५३ पालिकामध्ये केहीले बजेट सार्वजनिक गरिसकेका छन् भने बाँकी रहेका स्थानीय तहले आज बजेट ल्याउने छन् । स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समान्नीकरण अनुदान, सशर्त अनुदान, समपुर अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वका अनुमानको आधारमा बजेट प्रस्तुत गर्नेछन् ।
स्थानीय तहमा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले नगरसभामा बजेट पेस गर्ने व्यवस्था छ । पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नु पर्नेछ। छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ।
सुझावसहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस गर्नुपर्नेछ। सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ।