टेक एण्ड पे हटाएको बारे प्रधानमन्त्रीको जवाफ–राम्रो गर्न ल्याएको, नराम्रो गर्ला कि भनेर हटाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो गर्ला कि भनेर बजेटबाट टेक एण्ड पे हटाएको बताएका छन् । मंगलवार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले ‘टेक एण्ड पे’ हटाएको विषयमा प्रश्न सोधेपछि यस्तो जवाफ दिएका हुन् ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदी र गंगा कार्कीले टेक एण्ड पे किन हटाएको भनेर भनेर प्रश्न गरेका थिए। जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘राम्रो गर्न ल्याएको तर नराम्रो गर्ला कि जस्तो भएर हटाइएयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानवअधिकार सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषय फरक–फरक भएको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको उनले स्पष्ट पारे ।
राष्ट्रिय योजना आयोगको काम मन्त्रालयहरूबाटै भइरहेको भन्दै आयोगको औचित्यको सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नलाई प्रधानमन्त्री ओलीले यो विषय प्रश्नै उठाउन नहुने खालको भएको बताए ।
योजना बैंक अनुसार छनोट भए/नभएको र ३ करोड रुपैयाँको बजेट सीमा पालना नभएको भन्ने प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यससम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ ले आयोगमा राष्ट्रिय स्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ । राष्ट्रिय योजना आयोजना बैंक प्रणालीमा ३ करोडभन्दा कम लागतका आयोजना प्रविष्ट नगर्ने आयोजना बैंक मापदण्डमा व्यवस्था छ । आयोगले आयोजना बैंकको प्रभावकारी कार्यान्वयका लागि २०८१ चैतमा संघीय संसदका माननीय तथा नेपाल सरकारका मन्त्री तथा सचिवहरूसँग छलफल गरिसकेको छ । आगामी दिनमा यसको प्रभावकारिताबारे प्राथमिकता दिइने छ ।’