Ad Image

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ९० करोड, तेस्रो सन्तान जन्माउनेका लागि प्रोत्साहन कोष

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hetauda upa.PNG

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ । उपमहानगरको १७औं नगरसभामा मंगलवार  उपप्रमुख राजेश बानियाँले २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

उपमहानगरले चालु आर्थिक वर्षको भन्दा ७ करोड रुपैयाँ अर्थात १९ प्रतिशतले वृद्धि गरेर बजेट प्रस्तुत गरेको छ । बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ भने आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ छुट्याएको छ । स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख र  शिक्षातर्फ ५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा अस्पतालमा निर्माणाधिन बाल एन.आई.सि.यु.रपि.आई.सि.यू. सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने  हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका (बहुवर्षीय योजना) लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौंडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौंडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाईतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न तीन करोड १५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । हेटौंडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । 

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोशेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाले तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गर्ने भएकाे छ । हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले मंगलवार नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको हो ।