Ad Image

घरपझोङ गाउँपालिकाको योजनाः ‘अध्यक्षसँग जनता’ कार्यक्रमदेखि जलवायु सम्मेलनसम्म

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gharapjhong-gaunpalika.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘वातावरण र जलवायु’ सम्मेलन आयोजना गर्ने भएको छ । पछिल्लो समय विश्वमा चिन्ताको विषय बनेको जलवायु परितर्वनलाई विश्व समुदायमाझ ध्यानार्कषण गराउने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले ७५३ वटै स्थानीय तहका प्रमुखको सहभागितामा वातावरण र जलवायु सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो ।

आजको १६ औं गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असरले वातावरणीय क्षेत्रमा प्रतिकूल असर पु¥याउँदै गइरहेकाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले सात सय ५३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा जलवायु सम्मेलन गर्ने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

“पालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ”, उनले भने, “वातावरण र जलवायु सम्मेलनबाट देशभरका स्थानीय तहले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि साझा घोषणापत्र जारी गर्नेछन् ।” नीति तथा कार्यक्रम तथा बजेटमा यी विषय समावेश गरिएको भन्दै उनले सम्मेलनको आयोजना घरपझोङ गाउँपालिकाले गर्ने उल्लेख गरे । 

पालिकाले चालु आर्थिक वर्षमा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र वातावरण संरक्षण गर्न अभियान सञ्चालन गरेको जनाउँदै उनले त्यसका लागि बृहत साइकल तथा घोडा ¥याली आयोजना गरिएको बताए । यसले पर्यटन प्रवर्द्धन गर्नुका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न सचेतना जगाउने काम गरेको उनले विश्वास व्यक्त गरे।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीले आगामी आर्थिक वर्षमा पनि पर्यटन प्रवर्द्धन गर्न र वातावरण संरक्षणका लागि जनचेतना जगाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

घरपझोङले गाउँपालिकासँग भगिनीसम्बन्ध स्थापित भइसकेका स्थानीय तहमा स्थानीय संस्कृति तथा पहिचान झल्किने गरी विभिन्न आकर्षक प्रतिमा निर्माण गरी पर्यटन प्रवर्द्धनको पहल थालिने नीति तथा कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष थकालीले ‘स्वास्थ्य बिमा कार्यक्रम’अन्तर्गत दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न नागरिक, सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकाका लागि अग्रीम भुक्तानीसम्बन्धी यसअघिको व्यवस्थालाई निरन्तरता दिइने जानकारी दिए । ‘घरदैलो कार्यक्रम’अन्तर्गत गाउँघर, क्लिनिक तथा ग्रामीण अल्ट्रासाउण्ड सञ्चालन, यातायात खर्च, अनुगमन तथा सामग्री व्यस्थापन गर्न बजेट विनियोजन गरिने उल्लेख छ । 

प्रदेश अस्पताल मुस्ताङमा फार्मेसीसम्बन्धी सेवामा दिइँदै आइएको पारिश्रमिक अनुदानलाई निरन्तरता दिने, प्रदेश अस्पतालमा चिकित्सकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरिएको उपाध्यक्ष थकालीले बताए । ‘बालमैत्री स्थानीय शासन’ घोषणा गर्नेगरी स्थानीय शासन प्रवर्द्धनका लागि विद्यालयमा बालमैत्री र अपाङ्गमैत्री पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

‘अध्यक्षसँग जनता’ कार्यक्रम तथा ‘उपाध्यक्षसँग जनता’ कार्यक्रममार्फत स्थानीय नागरिकका माग समेट्ने गरी बजेटमा समावेश गरिएको छ । लक्षित वर्गका लागि स्वास्थ्य शिविर, बिमा, आर्थिक सहायता, दिवा खाजा, दिवस तथा समारोहलाई निरन्तरता दिइने उल्लेख छ । 

विपद् जोखिम न्यूनीकरण गर्न नदी नियन्त्रण गर्न तटबन्ध निर्माण, जोमसोम गाउँभित्र ढल निकास तथा खानेपानी पाइपलाइन व्यवस्था, मार्फा खेलग्राम निर्माण, मार्फा—छैरो तटबन्ध निर्माण, ‘अध्यक्ष कप खेलकुद’लगायत कार्यक्रम बजेटमा समावेश गरिएको उपाध्यक्ष थकालीले उल्लेख गरे ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आव २०८२/८३ का लागि रु ३२ करोड छ लाखको बजेट प्रस्तुत गरेको छ । पुँजीगत विकास खर्च रु १२ करोड ५० लाख छ भने सङ्घीय समानीकरण रु सात करोड ५७ लाख र प्रदेश समानीकरण रु ७५ लाख सात हजार रहेको छ । बजेटमा सङ्घीय चालुतर्फ रु नौ करोड ४४ लाख र सङ्घीय पुँजीगततर्फ रु ६६ लाख विशेष अनुदान र समपुरक अनुदान रु ७५ लाख छ ।

प्रदेश समपुरक रु ६० लाख, विशेष अनुदान रु ४० लाख र सशर्ततर्फ रु दुई लाख रहेको गाउँपालिका कार्यालयले जनाएको छ । सङ्घीय राजस्व बाँडफाँड रु आठ करोड ५४ लाख तथा प्रदेश राजस्व बाँडफाँड रु ४८ लाख रहेको उपाध्यक्ष थकालीले जानकारी दिए । 

गाउँपालिकाले आर्थिकतर्फ रु चार करोड ४७ लाख, सामाजिकतर्फ रु १३ करोड ५० लाख, पूर्वाधारतर्फ रु सात करोड ८३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ३३ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु चार करोड ९४ लाख बजेट विनियोजन गरेको छ ।