टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी महिलाको उद्दार

तस्बिर: सांकेतिक/ए.आई
काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीले कारसहित एक महिलालाई बगाएको छ । बुधवार राति १० बजे ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार बगाएको हो ।
कारभित्र दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी थिइन् । उनलाई नेपाल प्रहरीले बानियाटार पुल नजिकबाट उद्दार गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको कारलाई बाढीले बगाउन थालेपछि सिंह गाडीबाटै हाम फालेका थिए ।
कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका प्रहरीले जनाएको छ ।
उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।