बागमती प्रदेशसभा बैठक स्थगित, बजेटमा सत्तापक्षकै असन्तुष्टि


हेटौंडा । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो ।
प्रदेश सभा सचिवालयले बैठक स्थगित हुनुको कारण ‘विशेष कारण’ उल्लेख गरेको भए पनि स्रोतका अनुसार बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले तीव्र असन्तुष्टि जनाएका कारण बैठक सारिएको हो ।
बुधबार साँझ बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रदेश सभा सदस्यहरूले बजेटको बँडफाँटप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि कडा आलोचना गर्दै बजेट आफ्नै जिल्लामा मात्र केन्द्रित गरिएको आरोप लगाए ।
सांसदहरूका अनुसार बजेट विनियोजनमा बिचौलियाहरूको प्रभाव स्पष्ट देखिएको छ र तिनकै स्वार्थअनुसार रकमको भागबन्डा गरिएको छ । त्यस्तै, बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्वाधार निर्माणको लागि रकम छुट्याइएको तथ्यले पनि असन्तोष बढाएको छ ।
यसका साथै हेटौंडा उपमहानगरपालिकामा जम्मा १९ वटा वडा भए तापनि बजेटको विवरणमा वडा नम्बर २० र २२ उल्लेख गरिएको छ, जसले बजेट प्रक्रियामै त्रुटि भएको आशंका उब्जाएको छ ।
सत्तापक्षीय सांसदहरुकै चर्को आलोचना र असन्तुष्टिका कारण प्रदेश सरकारले तत्काल बैठक सञ्चालन गर्न नसकेको देखिएको छ । बैठक अब असार १६ गते बस्नेछ ।