Ad Image

रास्वपाको महामन्त्री विवाद : सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mukul-dhakal-2081.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पद सम्बन्धी विवादमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ ।

आफूलाई अझै महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकालले बुधबार सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार ढकालले आफू नै वैधानिक महामन्त्री भएको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित परमादेश र उत्प्रेषणको माग गर्दै रिट दायर गरेका छन् ।

रास्वपाले २०८१ भदौ ११ गते ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । यसअघि २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र र अनुशासनहीन गतिविधि देखाएको भन्दै उनी महामन्त्री पदबाट निलम्बित भएका थिए ।

तर ढकालले निर्वाचन आयोगबाट असार ४ गते माग गरेको अद्यावधिक विवरणमा आफू नै महामन्त्री रहेको उल्लेख भएको दाबी गरेका छन् । सो विवरण अनुसार निर्वाचन आयोगमा नयाँ नेतृत्व अद्यावधिक भइसकेको छैन ।

ढकालले दायर गरेको रिटमा रास्वपाको केन्द्रीय कार्यालय, सभापति रवि लामिछाने, हाल नियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाइएको छ ।