म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन, शाही दम्पतीको उदाहरणीय पहल


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही र उनकी श्रीमती गीता शाहीले पाखोबारी र घरको बार्दलीमा व्यावसायिक रूपमा अरिङ्गालपालन सुरु गरेका छन् । उनीहरूले बेनीनजिकैको राहुवडास्थित पाखोबारीमा ११ वटा अरिङ्गालका गोला राखेर उत्पादन बढाउँदै आएका छन् ।
गीता शाहीका अनुसार मौरीपालनजस्तै गोला स्थानान्तरण विधिबाट सुरु गरिएको यो व्यवसायबाट संरक्षणसँगै राम्रो आम्दानी हुने देखिएको छ । उनले पर्वतको जलजला गाउँपालिकामा लघुउद्यम विकास सहजकर्ताका रूपमा काम गर्दै आएकी छन् भने अशोक शाही हस्तकला तथा फर्निचर व्यवसायमा संलग्न छन् ।
शाही दम्पतीका अनुसार एउटा गोलाबाट दुई महिनामा आठ किलोसम्म अरिङ्गालको लार्भा निकाल्न सकिन्छ । लार्भा स्थानीय होटलहरूमा प्रतिकिलो ३ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका उनीहरूले यस वर्ष २५ वटा गोला पालेर एक क्विन्टल लार्भा उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
अरिङ्गाल चरनका लागि जङ्गल तथा खेतबारीमा जान्छन्, र तिनीहरूको आहारामा कीरा, फट्याङ्ग्रा, फूल तथा फलफूल पर्छन् । झरीको समयमा लार्भा उत्पादनका लागि मासु र फलफूल खुवाइन्छ ।
शाही दम्पतीले अरिङ्गालको गोला स्थानान्तरण गर्दा विशेष सुरक्षा उपकरण प्रयोग गर्ने गरेका छन् । “सावधानी नअपनाए ज्यान नै जोखिममा पर्न सक्छ“, अशोक शाहीले भने । जङ्गलबाट ल्याएका अरिङ्गालमध्ये करिब २५ प्रतिशत भागेर जाने गरेको र बाँकीले नयाँ स्थानमा बसेर उत्पादन दिने गरेको अनुभव उनीहरूको छ ।
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार अरिङ्गालपालन जिल्लामा नयाँ वनजन्य उद्यमका रूपमा देखिएको छ । “गोला पोलेर नष्ट गर्नुको सट्टा पालन गर्दा संरक्षण पनि हुन्छ, आम्दानी पनि,“ उनले भने, “तर, जोखिम भएकाले सावधानी आवश्यक छ ।“
शक्तिवद्र्धक मानिने अरिङ्गालको लार्भा विशेषगरी बर्खायाममा बेनी आउने पाहुनाबीच लोकप्रिय बन्न थालेको बेनीका होटल व्यवसायीहरू बताउँछन् । शाही दम्पतीको यो प्रयासले पाखोबारी उपयोग गर्दै नयाँ प्रकारको उद्यमशिलताको उदाहरण प्रस्तुत गरेको छ ।