विदेशबाट फर्केकाको सीप राष्ट्रहितमा उपयोग गर्नुपर्नेमा जोड

मोरङ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित ‘पुनःएकीकरण’ विषयक छलफल तथा समन्वय बैठकमा सहभागीहरूले विदेशबाट फर्केका युवाको सीप उद्यमशीलतासँग जोड्नुपर्ने धारणा राखे ।
कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले विदेश फर्केका युवालाई राष्ट्रिय पुँजी बनाउनेतर्फ काम गरिरहेको बताए। रेमी परियोजनाकी सपना थापा, महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले जनशक्तिको सीपलाई उत्पादनसँग जोड्न सुझाव दिए ।
विदेशबाट फर्केका युवती जीवनकुमारी राई र सकुन्तला अधिकारीले विदेश जानुअघि भाषा र सीप सिक्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा सञ्चारकर्मी र विज्ञहरूले समेत आफ्ना धारणा प्रस्तुत गरे ।